काठमाडौँ —गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्ण परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीवार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाउने भएको छ ।
आयोगका अनुसार भोलि बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिनेछ भने त्यसपछि दिउँसो राष्ट्रपतिलाई औपचारिक रूपमा प्रतिवेदन बुझाइनेछ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले प्रतिवेदन बुझाउने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। उनले प्रतिवेदन हस्तान्तरणपछि साँझ ५ः३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनसमेत आयोजना गरिने बताए ।
आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीवार नै प्रमाणपत्र प्रदान गर्ने तयारी पूरा भएको पनि उनले सुनाए।








Discussion about this post