चितवन – पल्लव साहित्य प्रतिष्ठान, चितवनले ‘बृहत् साहित्यिक कुम्भ मेला’को अवसर पारेर नेपाली भाषा, साहित्य तथा कलाका क्षेत्रमा योगदान पुर्याएका छ स्रष्टा तथा द्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ।
भदौ १३ गते नारायणगढस्थित पर्व पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा ‘पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८३’ सहित विभिन्न पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साइलो) का अनुसार संस्कृत विधामा विद्यावारिधि गर्ने प्रथम नेपाली महिला डा. दिव्यप्रियंवदा काफ्लेको प्रमुख आतिथ्यमा समारोह आयोजना हुनेछ।
यस वर्ष बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार स्याङ्जा गल्याङका चण्डिप्रसाद भट्टराईलाई र शेषनाथ लामिछाने स्मृति बालसाहित्य पुरस्कार स्याङ्जा वालिङका मिलन समीरलाई प्रदान गरिनेछ।
त्यस्तै, विराटनगरकी नानुमैया दाहाललाई मीना–रत्न साहित्य पुरस्कार, मध्यपुर ठिमी, भक्तपुरकी दुर्गा घिमिरेलाई केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल स्मृति पुरस्कार, बेलकोटगढी, नुवाकोटका शिखरनाथ ढकाललाई काजीमान श्रेष्ठ तथा नन्दकुमारी–सन्तकुमारी श्रेष्ठ रत्न पुरस्कार र गैँडाकोट, नवलपुरकी भूमिका गैह्रे तिम्सिनालाई युसुफदिन–हलिमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। अध्यक्ष लामिछानेका अनुसार पुरस्कृत सबै छ स्रष्टालाई ‘पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८३’ बाट समेत विभूषित गरिनेछ।
देशभरका साहित्यकारहरूको सहभागिता रहने कार्यक्रममा ‘नारी स्रष्टा परिचयकोष–२’, ‘पल्लव’को ३०औँ अंक, छन्द कवितासङ्ग्रह ‘अभीप्सा’ र कथासङ्ग्रह ‘लावण्यस्मृति’ को सामूहिक लोकार्पणसमेत गरिने कार्यक्रम रहेको छ।
पल्लव साहित्य प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको ‘बृहत् साहित्यिक कुम्भ मेला’लाई साहित्यकार तथा स्रष्टाहरूबीच सिर्जनात्मक आदानप्रदान गर्ने महत्वपूर्ण साहित्यिक कार्यक्रमका रूपमा अघि बढाउँदै आएको छ।







Discussion about this post