कविता: सुन्छु जताततै

सुन्छु जताततै यो देश बर्बाद भयो
यो देश सकियो
तर म मेरो देश झन् राम्रो देख्छु
बजार भाउ अकासिएको सुन्छु
तर बजारमा पाइला राख्ने ठाउँ देख्दिनँ
विकृतिको हल्ला दिनहुँ सुनिन्छ
र पनि
रीतिरिवाज र संस्कृति झन् फैलिएको देख्छु
स्वदेशमा मात्र हो र ?

जहाँ नेपालि छन् त्यहाँ नेपालीपन छ
धर्म, परम्परा र रीतिरिवाज सहित नेपाली मन छ
तपाईं आफैँ भन्नुहोस् त
हामीले नै देश सकियो भन्यौँ भने
देश कसले बनाउँछ
जुम्रा पर्दा
केश मुण्डन नै गरिहाल्ने ?
अब देशका जुम्रा र उडुसलाई पनि
विषादी चाहिएको छ

कृपया

सामान्यीकरण गर्ने चेष्टा नगरौँ
न त देश नै व्यक्ति हो, न त व्यक्ति नै देश
एउटै आमाका सन्तानमा पनि
पुत्र र कुपुत्र देखिन्छन्
मेरो देश ३३ कोटि देवताको देश
वीर गोर्खाली र बुद्धको देश
माता जानकी र भृकुटीको देश
हिमाल, पहाड र तराईको देश
अनेकतामा एकता र भातृत्वभाव

त्यसैले

कसैले डग्मगाउन सक्दैन
यहाँ कोही भोकै मर्ने छैन
विदेश जानु देशको माया नभएर पक्कै हैन
मान्छे मन हो केही बढि कमाउने लालसा हुन्छ नै
आखिर कमाएर ल्याउने त यहीँ नै हो
विदेशिनु अनुभव सङ्गाल्नु पनि हो
नेपाली जहाँ गएपनि नेपाली नै हुन्छ
झन् पक्का नेपाली बनेर फर्किन्छ ।

अम्बिका गुरुङ

 

Comments are closed.