काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीको केन्द्रीय समितिको साउन १३ गते बसेको बैठकको निर्णयअनुसार अभियान साउन २५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट सुरु हुने रास्वपाका सहमहामन्त्री हरि ढकालले जानकारी दिए।
उनका अनुसार अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा आवश्यक सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र एक जना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा उपस्थित रहने व्यवस्था गरिएको छ।
रास्वपाले अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रमसँग जोड्ने लक्ष्य राखेको जनाएको छ।







