काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको एक महिनामै गीतले १० मिलियन भ्युजको आँकडा पार गरेको हो।
गीतले युट्युबमा १ करोड भ्युज पूरा गरेपछि गीतको सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ‘सिक्का नोटैमा’ गीत टिकटकदेखि विभिन्न डिजिटल प्लेटफर्ममा समेत लोकप्रिय बन्दै गएको छ।
गीतमा मेलिना राई र समीर खरेलको स्वर रहेको छ भने संगीत पनि समीर खरेलले नै दिएका छन्।
सरोज वली प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा अभिनेत्री अञ्जना बराइली र प्रदीप लामा फिचर्ड छन्।
गीतले छोटो समयमै करोडौँ भ्युज पाएसँगै यसको लोकप्रियता थप बढेको निर्माण टिमको भनाइ छ।







