दिनेश राउतको फिल्मबाट डेब्यू गर्दै गायक स्वप्न सुमन

गायक स्वप्न सुमन फिल्ममा डेब्यू गर्दैछन्। उनले दिनेश राउतको निर्देशनमा बन्ने फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन्।

गायक स्वप्न सुमनलाई फिल्ममा अनुबन्ध गरेको निर्देशक राउतले जानकारी दिएका छन्।

‘सहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा फिल्म बन्नेछ। हामीले स्वप्न सुमनलाई अडिसनबाटै छनोट गरेका हौं। अडिसन सकिएपछि उनले ३ महिना अभिनय तालिम गरे। फिल्ममा पात्रको भूमिका निर्वाह गर्न सक्ने भएपछि हामीले अभिनेता सार्वजनिक गरेका हौं,’ उनले सेतोपाटीसँग भने।

फिल्ममा स्वप्न सुमनबाहेक अन्य कलाकार सार्वजनिक गरिएको छैन। निर्देशक राउतका अनुसार अर्काे साताभित्र कलाकारसँगै निर्माण कम्पनीबारे जानकारी दिइनेछ।

फिल्मको पटकथा विकास सुवेदीले तयार पारिरहेका छन्। फिल्मको वैशाखमा छायांकन सुरू हुनेछ।

स्वप्न सुमन नेपाली सांगीतिक क्षेत्रमा रूचाइएका गायक हुन्।

२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो।

उनको ‘द कफी सङ, के साह्रो राम्री भाको, ए हेल्लो, कसरी भनुँ, म तिम्रो’ लगायतका गीत चर्चित छन्।

यसै वर्ष उनले अभिनेत्री ज्योत्सना योगीसँग विवाह गरेका छन्। उनीहरूको विवाहको ‘वाचा भयो’ बोलको गीत हिट भएको थियो।

Comments are closed.