पोखरा विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘वानटू’बाट भीएफआर उडानको अनुमति दिनु अगाडि विस्तृत अध्ययन गर्न यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ ।

बुधबार दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो सिफारिस गरेको हो । यस धावनमार्गबाट भीएफआर उडान अनुमति दिनु अगाडि कति उचाइमा जहाज स्थिर हुन्छ र अवतरण गर्न सक्छ भन्नेबारे विस्तृत अध्ययन गर्न आयोगले सरकारलाई सिफारिस गरेको हो । यससँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वान-टूबाट जहाजहरु अवतरण गर्न नपाउने भएका छन् ।

१ माघ २०७९ मा पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एएनसी जहाज धावनमार्ग वानटूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटना जहाज बेस लेगमा रहेका बेला दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएका कारण भएको देखिएको छ । यो किन भयो भन्ने बारे भने विस्तृत प्रतिवेदनमा मात्र भन्न सकिने आयोगका एक सदस्यले जानकारी दिए ।

यो अवस्था आउनु भनेको जहाजका पंखाको अवस्थिति जहाजलाई अगाडि बढाउन योग्य थिएनन् भन्ने बुझिन्छ । जसका कारण जहाज भुईँमा झर्न पुगेको हो । यसमा मानवीय वा प्राविधिक दुवै कारण हुन सक्ने भन्दै उनले विस्तृत प्रतिवेदनले मात्र दुर्घटनाबारे भन्न सकिने उनले बताए ।

सामान्यतया उडान सुरक्षामा तत्काल कुनै जोखिम भएमा त्यसलाई सच्याउनु पर्ने भएमा दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने प्रचलन छ । सोही कारण आयोगले यस्तो प्रतिवेदन निकाल्दै रनवे वान-टूबारे अध्ययन गर्न भनेको हो । आयोगले मानवीय त्रुटि, प्राविधिक कारण र अवतरण गर्ने मार्गमा रहेको त्रुटिलाई समेत ध्यानमा राख्दै ‘स्कोप अफ इन्भेष्टिगेसन’ सूची सार्वजनिक गरेको छ ।

दुर्घटनाका बेला ६ किलोमिटर भिजिबिलिटी देखिएका कारण मौसमी कारणले भने दुर्घटना नभएको पाइएको छ । सो दिन आकाश खुला रहेको र कहीँ कतै मात्र बादल देखिएको थियो । १४ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।

 

Comments are closed.