वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी तथा अस्थायी रूपमा अमेरिकामा बसोबास गरिरहेका विदेशीका सन्तानलाई दिइँदै आएको जन्मसिद्ध नागरिकता (Birthright Citizenship) र ‘बर्थ टुरिजम’ नियन्त्रण गर्ने उद्देश्यले नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
बिहीबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकतासम्बन्धी सर्वोच्च अदालतको अघिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसलाई “अत्यन्तै दुर्भाग्यपूर्ण फैसला” भएको टिप्पणी गरे।
ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टेफन मिलरका अनुसार ट्रम्पले दुईवटा कार्यकारी आदेश जारी गरेका छन्। पहिलो आदेशले विदेशी आतंककारी सङ्गठनका सदस्य, “विदेशी शत्रु” तथा विदेशी सरकारका तर्फबाट काम गर्ने व्यक्तिहरूका अमेरिकामा जन्मिएका सन्तानलाई जन्मसिद्ध नागरिकताका लागि अयोग्य ठहर गर्ने व्यवस्था गरेको छ।
दोस्रो आदेश ‘बर्थ टुरिजम’ लक्षित छ। सन्तानलाई अमेरिकी नागरिकता दिलाउने मुख्य उद्देश्यले मात्र अमेरिका आएर बच्चा जन्माउने प्रचलनलाई रोक्न विद्यमान नियमलाई थप कडा बनाइएको प्रशासनको दाबी छ। अमेरिकी कानुनमा यसअघि पनि नागरिकता दिलाउने उद्देश्यले भिसा लिन नपाइने व्यवस्था रहेको भए पनि नयाँ आदेशले त्यसको कार्यान्वयन थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
यसअघि अमेरिकी सर्वोच्च अदालतले संविधानको १४औँ संशोधनको व्याख्या गर्दै अमेरिकी भूमिमा जन्मिने अधिकांश बालबालिका स्वतः अमेरिकी नागरिक हुने स्पष्ट पारेको थियो। अदालतले बाबुआमा गैरकानुनी वा अस्थायी रूपमा अमेरिकामा बसेका भए पनि उनीहरूका सन्तानलाई नागरिकताबाट वञ्चित गर्न नमिल्ने फैसला सुनाएको थियो।
प्रधानन्यायाधीश जोन रोबर्ट्सले बहुमतको तर्फबाट दिएको फैसलामा संविधानले अमेरिकी भूमिमा जन्मिने प्रत्येक व्यक्तिको नागरिकताको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका थिए। यद्यपि, न्यायाधीश क्लेरेन्स थोमस, निअल गोर्सच र स्यामुएल अलिटोले भने उक्त व्याख्याप्रति असहमति जनाएका थिए।
सर्वोच्च अदालतको फैसलापछि ट्रम्प प्रशासनले कानुनी सीमाभित्र रहेर जन्मसिद्ध नागरिकता र ‘बर्थ टुरिजम’ सम्बन्धी व्यवस्थामा थप कडाइ गर्ने प्रयासस्वरूप नयाँ कार्यकारी आदेश जारी गरेको जनाएको छ।






