महिला पुस्तक प्रदर्शनी सुरु: वैशाख ११ देखि १५ गतेसम्म

काठमाडौँ- पारिजात स्मृति केन्द्रको आयोजनामा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म महिला पुस्तक प्रदर्शनी हुने भएको छ।
पारिजातको २१ औं स्मृति दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाको सौजन्यमा राष्ट्रिय सभागृहमा पुस्तक प्रदर्शनी हुन लागेको हो।
मंगलबार बिहान ११ बजे उद्घाटन हुने उक्त प्रदर्शनीमा महिलाको लेखन, अनुवाद, सम्पादन रहेका तथा महिलासम्बन्धी विषय र विधाका कृतिहरू राखिनेछ।
पाठकलाई महिलाका पुस्तकतर्फ आकर्षित गरी महिला लेखनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी हुन लागेको पारिजात स्मृति केन्द्रकी कोषाध्यक्ष साहित्यकार तथा समालोचक डा. बिन्दु शर्माले जानकारी दिइन्।
शर्माका अनुसार यस प्रदर्शनीमा पुस्तक प्रकाशक र पुस्तक प्रकाशन तथा स्टेसनरी व्यवसायी सङ्घको संलग्नता रहनेछ।
नेपालमा पहिलो पटक पारिजातको अग्रसरतामा २०४२ सालमा भारतीय पुस्तकालयमा महिला पुस्तक प्रदर्शनी सम्पन्न भएको थियो भने त्यसपछि पारिजात स्मृति केन्द्रको सक्रियतामा नेपाल पर्यटन बोर्डमा महिला पुस्तक प्रदर्शनी भएको थियो।
गत चैतमा मात्रै ‘पिक्चर्स लाइब्रेरी’को आयोजनामा एक दिने महिला पुस्तक प्रदर्शनी सम्पन्न भइसकेको छ।

Comments are closed.