पोखरा, १९ चैत्र, पोखराको नदीपुरस्थित प्रतिभा माविको प्रांगणमा शनिबार अभि सुवेदी ठट्यौलो मुडमा देखिए । विद्यालयले बर्सेनि प्रदान गर्ने ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट उनलाई १ लाख राशिसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा उनले प्राध्यापनको लामो अनुभवलाई सरल भाषामा सुनाए । विगत ५३ वर्षदेखि विद्यार्थीलाई अगाडि राखेर मुख हेर्दै आएकोमा अहिले पनि पढाइरहेको बताए । ‘अगाडि विद्यार्थी राखेर उनीहरूका मुख हेरेको ५३ वर्ष भएछ । यत्ति हो, अहिले जुम प्रविधिबाट हेरिरहेको छु,’ उनले भने ।
शिक्षण पेसामा रहँदा खुसी मिले पनि उनको केही चित्त दुखाइ छ । ‘शिक्षक नदी किनारको माझीजस्तै हुन् । यात्रु तर्छन्, जान्छन्, माझी उही रहन्छन् । शिक्षा र समय नदी हो, बगिरहन्छ । मेरो जिन्दगीभरको काममा खुसी छु, गर्व पनि छ । र, चित्त दुखेको पनि छ,’ उनले भने, ‘मैले पढाएका विद्यार्थीहरू सबै पदमा पुगे । देशका प्रधानमन्त्री पनि भए, शिक्षामन्त्री, विदेशमन्त्रीहरू भए । चित्त दुखेको यहाँ हो कि मैले जे अपेक्षा गरेँ, त्यो भएन ।’ देशमा सोचअनुसार परिवर्तन आउन नसकेकोतर्फ उनको भनाइ लक्षित थियो । सम्मान लिँदा भने उनले असहज महसुस गरे । हत्तपत्त सम्मान थाप्ने बानी नभएकाले पनि केही असहज महसुस गरेको उनले सुनाए । प्रा.डा. सुवेदीले झन्डै ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले प्रतिभा वर्ष सम्मान–२०७८ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई प्रदान गरेको छ । क्रिकेट खेलमा पु¥याएको विशिष्ट योगदानको कदरस्वरूप एक लाख रुपैयाँसहित मल्ललाई विद्यालयले सम्मान गरेको हो । क्रिकेटर मल्लले आफूलाई गरिएको सम्मान सम्पूर्ण खेलाडीप्रतिको सम्मानका रूपमा लिएको बताए । यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गरी जनही १ लाख राशिसहित सम्मान गरिसकेको छ । एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।
शनिबार नै विद्यालयले छात्रा सीमा केसीलाई …प्रतिभा रत्न सम्मान–२०७८दिएको छ । …वर्ल्ड इकोनोमिक कप’ मा कास्य पदक जितेकी उनलाई विद्यालयले सम्मान गरेको हो । यस्तै, नेसनल इकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनोट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ ।
Comments are closed.