डेढ अर्ब लागतमा राप्ती नदीमा पुल निर्माण हुँदै

काठमाडौं। राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको राप्ती नदीमा बन्ने पुलको ठेक्का लागेको छ। हुलाकी राजमार्ग आयोजनाका अनुसार नेपालगञ्जमा राप्ती नदीमाथि पुल निर्माण गर्न लगाएको हो।

यसमा लुम्बिनी- रतुवा- बन्दन भगवती जेभीले लगभग १ अर्ब ५० करोड लागतमा डिजाइन तथा निर्माण गर्ने गरी ठेक्का पाएको छ। यसको ठेक्का ४ महिना अगाडि आह्वान गरिएको थियो।

यसमा ४ वटा निर्माण कम्पनीहरुले आवेदन दिएका थिए। जसमा कुमार श्रेष्ठ, कालिका कन्स्ट्रक्सन, रतुवा र लुम्बिनी-रतुवा- बन्दन भगवती जेभी रहेका छन्।

यो पुलको निर्माण र डिजाइन दुबै निर्माण कम्पनीले गर्नुपर्ने हुन्छ। यो पुल नेपालगञ्जको बाँकेमा निर्माण हुने आयोजनाले जनाएको छ।

यो पुल ७०० मिटर लामो रहेको छ। यसको डिजाइन निर्माण कम्पनीले ६ महिनामा सम्पन्न गर्नुपर्छ। यसमा निर्माण र डिजाइन गर्न ३ वर्षको समय दिइएको छ। डिजाइन सम्पन्न भएको ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने आयोजनाले जनाएको छ। यहाँ भएको पुरानो पुल जोखिम अवस्थामा रहेको छ।

आयोजनाका अनुसार हालसम्म ११५ वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ। यस आयोजनामा साना ठुला गरी कुल २५० वटा पुल निर्माण गर्ने योजना छ। जसमा ४५ वटा पुल निर्माणाधिन रहेका छन् भने ५० वटा पुलको ठेक्का लगाउनै बाँकी रहेको आयोजनाले जनाएको छ।

आयोजनामा अझै २०५ किमि सडक ठेक्का लाग्न बाँकी

यस राजमार्गमा २०५ किलोमिटर सडकको ठेक्का लाग्न बाँकी रहेको छ। सडक विभागले निकालेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति प्रतिवेदन अनुसार यस आयोजनामा अझै २०५ किलोमिटर सडकको ठेक्का लाग्नै बाँकी रहेको उल्लेख छ।

यस आयोजनामा हालसम्म १८७९ किलोमिटर मध्ये १३५६ किलोमिटर सडक कालोपत्रे भएको छ।

पछिल्लो पटक थपिएको अवधि ६ महिना बाँकी हुँदा हुलाकी राजमार्गमा २०५ किलोमिटर सडकको ठेक्का लाग्नै बाँकी रहेको छ। यस्तै ४१५ किलोमिटर सडक निर्माणाधिन अवस्थामा रहेको आयोजनाले जनाएको छ।

अधिकांश आयोजनाहरु निर्माण व्यवसायीले काम नगर्दा लामो समय लाग्ने हुन्छ। थपिएको अवधि असार मसान्तसम्म भने सडक र पुल दुबैका लागि पर्याप्त नभएको आयोजनाको भनाइ छ।

यस राजमार्गको निर्माण सुरु भएको लगभग डेढ दशक वितिसक्न लागेको छ। तर यस राजमार्गको भौतिक प्रगति भने हालसम्म ७२ प्रतिशत मात्र छ। साथै यस आयोजनाले १४ वर्षमा ५३ अर्ब १२ करोड रुपैयाँ खर्च गरिसकेको छ। सरकारले आव २०६४/६५ देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ।

यस आयोजनामा चालू आवको पहिलो त्रैमासिकमा ४ किलोमिटर सडक कालोपत्रे भएको छ। तर यो समयमा एउटा पुलको पनि निर्माण हुन सकेन। तर यस अवधिमा २४ करोड ५७ लाख रुपैयाँ खर्च गरेको आयोजनाले जनाएको छ।

थप भएको अवधि चालू आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ।

Comments are closed.