योगमाया सम्मान समर्पण सम्पन्न

काठमाडौं । काठमाडौँ स्थित अनामनगरमा नेपाल स्रष्टा समाजद्वारा आयोजित एक कार्यक्रममा योगमायाको नाममा स्थापित दुई सम्मान स्रष्टालाई समर्पण गरेको छ ।

उक्त कार्यक्रममा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान—२०८०’ अन्वेषक चन्द्रबहादुर बस्नेतलाई र ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान—२०८०’ जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीलाई अर्पण गरियो ।

उक्त सम्मानका साथ नगद राशि क्रमशः ३५ हजार र २५ हजार १११ रुपैयाँको थैलीसमेत प्रदान गरियो । कार्यक्रममा समाजको मुखपत्र ‘स्रष्टा दर्पण’को योगमाया विशेषाङ्क पनि सार्वजनिक गरियो ।
प्रमुख अतिथि कवि तुलसी दिवसले स्रष्टाहरूलाई सम्मानित गर्दै समाजको योगमायाप्रतिको चासो र कार्य प्रशंसनीय रहेको बताए । उनले योगमायाका बारेमा अझै थप अनुसन्धान र खोजी हुनुपर्नेमा जोड दिए ।
मन्तव्यका क्रममा सम्मानित स्रष्टाहरूले प्राप्त सम्मानले आफूहरूमा ऊर्जा थपिएको बताए । सोअवसरमा योगमाया न्यौपानेको संघर्ष र योगदानको चर्चा गरियो ।
कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्की, पवन आलोक, राजेश न्यौपाने, श्रीओम श्रेष्ठ रोदन, मधु पाठकलगायतले बोलेका थिए ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान पवन आलोकले स्थापना गरेका हुन् भने योगमाया न्यौपाने अभियन्ता सम्मान राजेश न्यौपानेले स्थापना गरेका हुन् ।

Comments are closed.