निरु न्यौपानेका दुई कृति लोकार्पण

६ अषाढ,काठमाडौँ — निरु न्यौपानेका दुई कृति लोकार्पण गरिएको छ । सोमबार काठमाडौंको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ‘अर्को अध्याय’ र गजल ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देललगायत उपस्थित थिए ।

कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपाने एउटा राम्रो कलमका रुपमा चिनेको बताए । ‘उपन्यासमा नेपालदेखि विदेसिएको अनुभव छ । लेखक आफैं पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएका छौँ हामीले,’ उनले भने । उनले एक पाठकका रुपमा उपन्यास पठनयोग्य रहेको बताए ।

समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव संवेदनाको कृति भएको बताइन् । ‘उपन्यासमा माया, विश्वास, सम्बन्ध मुख्य छ । एकपटक पढ्न बसेपछि उठ्न मन लाग्दैन,’ उनले भनिन् ।

उपन्यासमा महिला संवेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको उनले बताइन् । समालोचक अधिकारीले ‘अर्को अध्याय’ आधुनिक नेपाली उपन्यास भएको पनि बताइन् ।

उपन्यास नेपाली महिलाको यथार्थ भएको साहित्यकार तथा समीक्षक रेणुका सोलुले बताइन्।’अर्को अध्याय नेपाली महिलाले दुलही भएर भित्रिएबाट सुरु भएको विभेददेखिको कथा हो। यसले नेपाली समाज र महिलालाई प्रस्तुत गरेको छ,’ उनले भनिन्, ‘पढ्दै गर्दा परिवारको सकारात्मक भूमिकाले नेपाली समाज त्यस्तै भए हुने नि लाग्छ।’ यौनमात्रै ठूलो कुरा नभएको, विदेशको भोगाइ, पितृसत्तामाथि उठाएको प्रश्न, बिहे आफैंमा नराम्रो हैन, छोरालाई नैतिक शिक्षा दिनुपर्छ लगायतका कुराहरू उपन्यासको राम्रो पक्ष रहेको रेणुले बताइन् ।

यसैगरी ‘सिरानीको तस्बिर’ गजल धेरै राम्रो गजल भएको वरिष्ठ गजलकार ललिजन रावलले बताए। ‘उपन्यास लेख्नु जोखिम कुरा हो, लेखकले राम्रो काम गरेकी छन्,’ उनले भने, ‘गजल पढेँ, यसमा विषयक विविधता धेरै छ । एउटा गजलकारको लागि राम्रो कुरा हो।’ उनले पाठकले गजलमा नौलोपन पनि भेट्ने बताए।

सोही कार्यक्रममा न्यौपानेले लेखेको ‘हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो।

Comments are closed.