विकल त्यागीको ‘आमआलाप’गीतिसंग्रह लोकार्पण

काठमाडौँ — कवि तथा गीतकार विकल त्यागी (प्रकाश गुरुङ)का गीतहरूको सङ्ग्रह ‘आमआलाप’ सार्वजनिक गरिएको छ । बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराल र संगीतकार वसन्त मुकारुङले संयुक्त रूपमा ‘आमआलाप’को लोकार्पण गरेका थिए ।
उक्त कार्यक्रममा त्यागीले गीत रचना गर्दाको अनुभूति सुनाउँदै एकान्तमा गुनगुनाउँदा गुनगुनुनाउँदै गीतको सङ्ग्रह तयार भएको बताए । साथै आफ्ना गीतहरू आफ्ना मात्र भावना नभएर समाजकै तस्बिर भएको धारणा राखेका थिए ।
विमोचन समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि प्रा.डा. बरालले कवि तथा गीतकार त्यागीका गीतहरूले मन र मस्तिष्कलाई झङ्कृत गराउने बताए । उनले भने, ‘यस सङ्ग्रहमा संग्रहित गीतकार त्यागीका गीतहरूमा राष्ट्र, राष्ट्रियता, माया–प्रेमका साथै समाज र संस्कृति सजीव रूपमा चित्रित भएका छन् ।’
लोकार्पण समारोहमा उपस्थित संगीतकार वसन्त मुकारुङले त्यागीका गीतहरूभित्रै संगीत पाइने टिप्पणी गरे । ‘संगीतकारले धेरै सोचिरहनु नपर्ने खालका गीतहरू सङ्ग्रहभित्र छन् । यो गीतकारको सफलता हो । गीतहरू सरल छन् र सम्प्रेषणीय छन्, उनले भने । कवि धु्रव मधिकर्र्मी, गीतकार टीका चाम्लिङ लगायतले ‘आमआलाप’भित्रका सबै गीतहरू मिठासपूर्ण रहेको प्रतिक्रिया दिएका थिए । सङ्ग्रहमा जम्मा ८४ वटा गीत समाविष्ट छन् ।

 

Comments are closed.