नरबहादुर लामाको कृति ‘अमरभूमि’ प्रकाशन

सिमकोट – दिगो सुख र अमरत्वको खोजीमा एक हिमाली यात्रा वृतान्तका रुपमा हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ३ का स्थायी बासिन्दा नरबहादुर लामाको ( जिग्मे ) पहिलो कृति ‘अमरभूमि’ प्रकाशन भएको छ ।
हिमाली अन्वेषक, समाजसेवी, ध्यान अभ्यासकर्ता लामाको ‘अमरभूमि’ पहिलो पुस्तक हो । आठौंं शताब्दीको हिमाली क्षेत्रको एक भविष्यवाणीको पृष्ठभूमिमा लेखक लामाले पुस्तक सुरु गरेका छन्।
हिमालहरू भित्र लुकेको अलौकिक सुखमय गोप्य क्षेत्रको भविष्यवाणी पनि पुस्तकमा गरिएको छ। सन १९६० को दशकमा सामाजिक उथलपुथलका बीच सुख र अमरत्वको खोजीमा यसलाई पत्ता लगाउने प्रयासहरू भए पनि केवल उपमा वाहेक यो वेयुल, शांग्रिलाको कथा गुमनाम वनेको आफुले पाएको लामाले बताए। हिमाली क्षेत्रको एक सुखमय गोप्य क्षेत्र वेयुल, शांग्रिलाको रहस्य खोलिँदै छ। फेरि सन् १९९० को समय सामाजिक, आर्थिक वातावरण बदलिदै, दुःख, चुनौती चुलिँदै जाँदा सुख, अमरत्वको खोजीमा लेखक हिँडेका रहेछन्।
कहिले एक जिज्ञासु, कहिले पर्यटक पथप्रदर्शक, कहिले विकासे कार्यकर्ता त कहिले एक यायावर उनले हिड्दाको अनुभुति पुस्तकमा उजागर गरेका छन्। पुस्तकको प्रारम्भिक अध्यायहरूमा लेखकले हुम्ला, कैलाश क्षेत्र, देश, विदेशको भूगोलको यात्रासंगै सामाजिक, आर्थिक अवयव केलाउंदै, विकास, समृद्धिमा समाधानहरु खोज्दै जानु भएको छ। पछिल्ला अध्यायहरूमा चिन्तनको गहिराइमा डुबेर सिद्धहरुको वृतान्त, अनि आफ्नो अन्तरमनमा केलाएर हेर्नु भएको छ।
तिनै अनुभूतिहरू संगाल्दै निखारिएर गएको दृष्टिमा, एक सुखी समाज, व्यक्ति, अनि शुद्ध भूमि, वेयुल, शांग्रिलाको मार्ग पहिल्याउने साहस पुस्तकमा गर्नु भएको छ। अमरभूमि हिमाली क्षेत्र भित्र लुकेको अलौकिक सुखमय गोप्य क्षेत्रको रहस्य उजागर गर्ने, हिमालय क्षेत्रको चिन्तन परम्पराको सविस्तारित चित्रण हो। पुस्तकले नेपाली, हिमाली क्षेत्रको साहित्यमा एक विशष स्थान लिने सम्भावना देखिन्छ। २५२ पृष्ठको पुस्तकमा हुम्ला जिल्लासँग सम्बन्धी ६ वटा तस्बिर राखिएका छन्। पुस्तकको पहिलो संस्करण २०८० सालमा प्रकाशित भएको छ। डिजाइन पवस शाक्य, मुद्रण कर्मा प्रेस प्रालि रहेको पुस्तकको मूल्य सात सय राखिएको छ। लामा हाल अमेरिकामा बस्दै आएका छन्।

 

Comments are closed.