नरेश राईको पुस्तक ‘पानी पतिया’ सार्वजनिक

 

काठमाडौँ — काठमाडौँ मण्डला थिएटरमा आयोजित एक कार्यक्रममा लेखक काङमाङ नरेश राईको गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धको पुस्तक ‘पानी पतिया’ सार्वजनिक गरिएको छ। मुन्धुम अध्येता भोगीराज चाम्लिङ, राजनीतिकर्मी मानुषी यमि भट्टराई तथा समीक्षक गुरुङ सुशान्तले सामुहिक रुपमा पुस्तकको विमोचन गरे।

भट्टराईले पुस्तकमा गोर्खा भर्तीको इतिहास र उनीहरू अहिले संगठित हुनुपरेको अवस्था पनि किताबमा आएको बताइन्। ‘हामी वीर नेपाली भनेर गर्व गर्छौं। त्यो भाष्य गोर्खाहरूका कारण बनेको हो। यो पुस्तकले वीर नेपाली भाष्यको पछाडि लुकेको पीडालाई उजागर गरेको छ,’ उनले भनिन्।चाम्लिङले पुस्तक गोर्खा भर्तीको इतिहास र भर्ती भएर जानेहरूले बेहोरेको दुःख पनि भएको बताए।

फिनिक्स बुकले बजारमा ल्याएको उक्त पुस्तकका बारेमा सुशान्तले पुस्तक ‘दुख्नेले लेख्ने’ दृष्टिकोणबाट लेखिएको बताए। ‘सामाजिक न्यायको मुद्दामा दुख्नेले लेख्ने कि देख्नेले लेख्ने भन्ने हुन्छ। पहिलो अनुभूतिबाट लेखिन्छ। दोस्रोमा अनुसन्धान र तथ्य आउँछ,’ उनले भने, ‘उहाँ आफैँले गोर्खामाथि भएको अन्याय सहनुभएको छ। त्यसैले यो पहिलो दृष्टिकोणबाट लेखिएको छ।’

 

Comments are closed.