दुर्गाप्रसादलाई बनारसमा अभिनन्दन

भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाएको ३०औं वर्षगाँठका अवसरमा बनारसको काशी हिन्दू विश्वविद्यालयअन्तर्गत भारतीय भाषा विभागमा भाषिक चेतना र गौरवका बारेमा बहस कार्यक्रम आयोजना भएको छ ।

विभागका अध्यक्ष प्राध्यापक दिवाकर प्रधानले ‘समग्रमा नेपाली साहित्यले प्रगति गरे पनि नेपाली भाषाले प्रगति गर्न नसकेको’ धारणा राखेका थिए । उनले नेपाली भाषा अझैसम्म ज्ञान तथा अनुशासनको विषय र जीविकोपार्जनको साधन बन्न नसकेको बताएका थिए ।

समारोहमा हालै प्रतिष्ठित जगदम्बा पुरस्कारबाट सम्मानित साहित्यिक पत्रकार एवं लेखक दुर्गाप्रसाद श्रेष्ठलाई विश्वविद्यालयलका तर्फबाट अभिनन्दन गरेको थियो । भारतको बनारसमा बसोबास गर्दै आएका ८४ वर्षीय श्रेष्ठले नेपाली भाषा-साहित्यको सम्पर्क सेतुका रुपमा रहेको ‘उदय’ पत्रिकाको नियमित प्रकाशन गर्दै र नेपाली-हिन्दी-अंग्रेजीमा समानान्तर अनुवादका गतिविधि सञ्चालन गर्दै आएका छन् । ‘उदय’ पत्रिका दुर्गाप्रसादका पिता काशीबहादुरले संवत् १९९३ देखि बनारसबाट प्रकाशनमा ल्याउन थालेका थिए । ‘उदय’ को हालसम्म १७८ अंक प्रकाशित भएको छ ।

बनारसमा रहेका नेपालीको छाता संस्था विद्याधर्म प्रचारिणी नेपाली समितिका अध्यक्षसमेत रहिसकेका श्रेष्ठका उपन्यास, कथा, कविता, समालोचना, अनुवादसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । विश्वविद्यालयले गरेको अभिनन्दनमा श्रेष्ठलाई ‘नेपाल-भारतबीचको सामाजिक, सांस्कृतिक, शैक्षिक र कुटनीतिक क्षेत्रमा सम्बन्धसूत्रका रुपमा काम गरेको भन्दै अघोषित राजदूतका रुपमा’ चिनारी गराइएको छ । लेखक श्रेष्ठले आफूले अध्ययन गरेको विश्वविद्यालयबाट सम्मानित हुन पाउँदा गैरवबोध भएको प्रतिक्रिया दिएका थिए ।

उक्त अवसरमा अखिल भारतीय नेपाली भाषा समितिका संस्थापक सदस्य रमेशकुमार प्रधान (विकल्प), रमेश ’बादल’ तथा विश्वविद्यालयमा तमिल भाषाका सहायक प्राध्यापक डा. जगदीशन टीसहितको उपस्थिति थियो । यसैगरी समारोहमा पुरातत्त्वका आचार्य प्राध्यापक गौतमकुमार लामा, तेलुगूका आचार्य प्राध्यापक बोदती वेङ्कटसरलू, भारतीय प्रोद्यौगिकी संस्थानका सहायक आचार्य डा. विश्वनाथ धिताल, वेद विभागका सहायक आचार्य डा. नारायणप्रसाद भट्टराई, मराठीका सहायक आचार्य डा. सन्दीप, जापानी विभागकी सहायक आचार्य डा. च्या, तमिल प्रभागका सहायक आचार्य डा. विघ्नेश अनन्तसहितको उपस्थिति रहेको थियो ।

Comments are closed.