‘जनकपुर साहित्य महोत्सव–२०२३’ फागुन ११ गतेदेखि सुरु

जनकपुरधाम– जनकपुरधाममा आगामी फागुन ११ गतेदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव-२०२३’ हुने भएको छ।

०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन-एयर प्यानल छलफल हुने आयोजक नवमिथिला फाउन्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताए।

महोत्सवमा साहित्यकार, लेखक, संगीतकर्मी, चलचित्रकर्मी, विभिन्न क्षेत्रका अग्रज एवम् विज्ञ, विद्यार्थी, राजनीतिक दलका नेतालगायत साहित्यानुरागी र कलाप्रेमीहरूको सहभागिता रहने उनको भनाइ छ।

महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहनेसमेत उनले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालका प्रथम राष्ट्रपति रामवरण यादव र विशेष अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव रहने साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ र डा. विजयकुमार सिंह (दनुवार)ले प्रबुद्ध मन्तव्य दिने उनले बताए।

कला, साहित्य प्रवर्द्धन उद्देश्यका साथ आयोजना हुने महोत्सवमा नेपालका साथै विदेशबाट समेत अवलोकनकर्ता र सहभागीहरूको उपस्थिति रहने उपाध्यक्ष नेपालले जानकारी दिए।

महोत्सवमा ‘समावेशिता: परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवा : संस्कार र परिष्कार’, ‘सहिद दिलीप महतोके मोन पाडैत’, ‘सञ्जालको बबाल’, ‘राजनीति : अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाइ’, ‘हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विद्यालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहने बताइएको छ।

उद्घाटन समारोहका दिन ‘अमित झा साहित्य संगीत पुरस्कार’ वितरण गर्नुका साथै अन्तरविद्यालय वक्तृत्व प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा र संगीत सन्ध्यामा (कुटुम्ब र मिनाप) ब्यान्डको प्रस्तुति रहनेछ।

महोत्सवको अन्तिम दिन १३ गते भारतकी चर्चित गायिका मैथिलि ठाकुरले पनि सांगितिक प्रस्तुति दिने उनले बताए।

Comments are closed.