वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

काठमाडौँ — प्राकृतिक रेशायुक्त वनस्पतिका कच्चा पदार्थहरुबाट बनेका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा नटक्राफ्ट सेन्टर र काठमाडौं विश्वविद्यालयको कला विभागले संयुक्तरुपमा प्रदर्शनी आयोजना गरेका हुन् ।

शुक्रबारसम्म चल्ने प्रदर्शनीमा स्थानीयस्तरमै उपलब्ध हुने प्राकृतिक कच्चा पदार्थहरुबाट तयार गरिएका चित्र, मूर्तिदेखि घरको भित्री सजावटका लागि प्रयोग गरिने कलाकृतिहरु छन् । सजिलै पाइने वनस्पतिका कच्चा पदार्थलाई उपयोग गरी विगत तीन दशकभन्दा लामो समयदेखि नटक्राफ्ट सेन्टरले हस्तकला तथा शिल्पकलाका सामग्रीहरु उत्पादन गर्दै आएको छ ।

पराल, छ्वाली, मकैको खोस्टा, बाँस, केराको रेशा, सेरामिक फाइबर जस्ता कच्चा पदार्थहरुबाट बनेका घर सजावट तथा दैनिक प्रयोगमा ल्याउन सकिने हस्तकलाका सामग्रीहरुलाई आधुनिक डिजाइन र शैलीमा ढालिएका छन् । गोपाल कलाप्रेमी, सुशीला सिंहजस्ता कलाकारहरुका सेरामिक कलाकृतिहरु प्रदर्शनीमा छन् । प्रदर्शनीमा नेपाली परम्परागत सिप, कौशललाई कलासँग जोडिएको सामग्री छन् ।

नेपाली संस्कृति, परम्परा र परिवेशसँग जोडिएको हाम्रा मौलिक सीप र कलालाई नयाँ पुस्तामा शैक्षिक तथा प्राज्ञिक तहबाट नै लैजाने उद्देश्यले काठमाडौं विश्वविद्यालयको कला विभागसँग सहकार्य गरिएको सेन्टरमा आबद्ध माया राईले बताइन् । सेन्टरले विशेषगरी नेपालको सामुदायिक स्तरको पहुँचमा पुगेर देशको सांस्कृतिक पहिचान, वातावरण संरक्षण र महिला सशक्तीकरणलाई जोडेर विभिन्न हस्तकला र शिल्पकलाई जोड दिइरहेको छ । ‘हाम्रो कलाकृति र हामीले बनाउने सामग्रीहरु हाम्रै गाउँघरमा उपलब्ध छन्,’ उनले भनिन्,‘यसले हाम्रो संस्कृति, सीप र वातावरण संरक्षणलाई समेत प्रवर्द्धन गर्ने भएकोले हाम्रो नयाँ पुस्ताले सिक्न जरुरी छ ।’

Comments are closed.