भेषजराज साहित्य प्रतिष्ठाको स्रष्टा सम्मान र पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

भेषजराज साहित्य प्रतिष्ठाको स्रष्टा सम्मान र पुरस्कार समर्पण, कृति चर्चा परिचर्चा, भेषजराज शर्माका काव्यकृतिमा दर्शन विषयक गोष्ठी एवम् नियमित रचना वाचनको ७० औँ श्रृङ्खला सम्पन्न भएकाे छ ।

भेषजराज साहित्य प्रतिष्ठानको आयोजन, नेपाल प्रज्ञा प्रतिष्ठानको सह- आयोजन र वालिङ नगरपालिकाको विशेष सहयोमा सोमबार वालिङ नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमकाे पहिलो चरणमा भेषजराज शर्माका काव्यकृतिमा दर्शन शीर्षकको कार्यपत्र प्रस्तुत गरियो । कार्यपत्र डा. अच्युतशरण अर्याल र श्यामप्रसाद ढुङ्गानाले संयुक्त रूपमा प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नारायण मरासिनी र उप प्राध्यापक परशुराम कोइरालाले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा प्रतिष्ठानले २०७४ सालदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको रु १०,०००/- राशिसहिको भेषजबिन्दु साहित्यिक पुरस्कार यस पटक नारी स्रष्टा डा. रजनी काफ्ले ढकाललाई र भेषजराज साहित्य सम्मान बालसाहित्यकार कवयित्री शान्ति सापकोटालाई समर्पण गरिएको थियो ।

पुरस्कृत व्यक्तित्व ढकालको परिचय प्रतिभा छनोट समितिका संयोजक प्रेमराज लुइँटेलले र सम्मानित व्यक्तित्व सापकोटाको परिचय प्रतिष्ठानका कोषाध्यक्ष शम्भु अर्यालले गराउनु भएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा प्राध्यापक केपी अर्यालको हुरीले खसालेका पातहरू गद्य कवितासङ्ग्रह र दुर्गा थापा मगरको छन्दोबद्ध कविता सङ्ग्रह सगुनको चर्चा परिचर्चा भएको थियो । उक्त दुई कवितासङ्ग्रहहरूको समीक्षा क्रमश: कवि एवम् समालोचक अनन्त अर्यालले र कवि बोधराज न्यौपानेले गर्नुभयो । यी दुबै कृति पठनीय र सङ्ग्रहणीय रहेको कुरा उहाँहरूले समीक्षाका क्रममा उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमको चौँथो चरणमा नियमित रचनावाचनको ७० औँ शृङ्खला सञ्चालन गरिएको थियो । यस चरणमा कविहरू नारायणप्रसाद रेग्मी, खगेन्द्र अर्याल, खगेन्द्र थापा, मिलन समीर, कमल बगाले, सीताराम अधिकारी, लेखनाथ काफ्ले र कवयित्रीहरू रजनी ढकाल, शान्ति सापकोटा, दुर्गा थापा मगर लगायतले आआफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी शुभकामना सहित पुरस्कृत र सम्मानित स्रटाहरूलाई बधाई दिनुभएको थियो ।

Comments are closed.