ताप्लेजुङमा ‘सिर्जना-उत्सव’ सम्पन्न

फुङलिङ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकाे आयाेजना र फुङलिङ नगरपालिका तथा कञ्चनजंघा साहित्य प्रतिष्ठान ताप्लेजुङकाे सहयाेगमा फागुन २६ गते फुङलिङस्थित सिटी हलमा सिर्जना उत्सव सम्पन्न भएकाे छ ।
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष माेमिलाकाे अध्यक्षता र वरिष्ठ कवि तुलसी दिवसकाे प्रमुख आतिथ्यमा आयाेजित उक्त कार्यक्रममा फुङलिङ नगरपालिकाका नगरप्रमुख अमीर मादेन, कञ्चनजंघा साहित्य प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई, कवि, लेखक तथा पत्रकारहरूकाे बाक्लाे उवस्थिति थियाे ।
कार्यक्रममा इलामका कवि विमल वैद्यलाई २०८० काे याेगेश्वर वाङ्मय पुरस्कार तथा ताप्लेजुङकै गायक तथा संस्कृतिकर्मी भरतकुमार गुरुङलाई ग्रेगरी मस्कारिनी संस्कृति पुरस्कार अर्पण गरिएकाे थियाे । कार्यक्रममा माेमिलाकाे नवीनतम निबन्धकृति “प्रश्नहरू त बाँकी नै रहन्छन्” तथा विमल वैद्यकाे कविताकृति “युगकाे तटमा उभिएर” काे लाेकार्पण पनि गरिएकाे थियाे ।
ताप्लुङका तथा देशमा अन्य भागबाट यहाँ पुगेका कविहरूकाे कवितावाचन यस उत्सवकाे मूल आकर्षण थियाे । स्थानीय लिम्बू जातिकाे संस्कृति झल्कने च्याब्रुङ नाचबाट अतिथिहरूकाे स्वातग गरिएकाे थियाे ।
यस उत्सवका लागि ताप्लेजुङबाहिरबाट फुङलिङ पुगेका स्रष्टाहरूमा तुलसी दिवस, डा. विमल काेइराला,कृष्ण न्याैपाने, अनिता काेइराला, उषा शेरचन, अशेष मल्ल, सावित्री मल्ल कक्षपति, माेमिला, राजेश्वर कार्की, डा. अमर शाह, हरिप्रसाद मानसाग्नि, केशव सिग्देल, भूपीन, जयदेव भट्टराई, मणि लाेहनी, सुन्दर बस्नेत, विमल वैद्य, जानकी बस्नेत, महेश पाैड्याल तथा महेश कार्की क्षितिज सामेल थिए ।
कार्यक्रमकाे दाेस्राे दिन फुङलिङकाे माउन्टेन हाेटलमा निबन्धकार माेमिलाकाे “प्रश्नहरू त बाँकी नै रहन्छन्” तथा विमल वैद्यकाे “युगकाे तटमा उभिएर” माथि विशेष परिसंवाद सम्पन्न भयाे । महेश पाैड्यालले मध्यस्थता गरेकाे उक्त कार्यक्रममा समालाेचक प्रा. डा. सावित्री मल्ल कक्षपति तथा सर्जक उषा शेरचनले विवेचना गरेका थिए भने कवि केशव सिग्देलले आफ्नाे पाठकीय टिप्पणी प्रस्तुत गरे । कृतिकारहरूले भने आ-आफ्ना लेखनका पृष्ठभूमि र लेखकीय दावी प्रस्तुत गरेका थिए ।
यात्राका दाैरान स्रष्टाहरूलाई इलाम नगरपालिकाले इलाम बजारमा भव्य स्वातग गरेकाे थियाे भने यसै नगरपालिकाकाे वडा नं ७ ले विदाइ गरेकाे थियाे ।
यसअघि यात्रारत स्रष्टाहरूले प्रसिद्ध लाेकगायक लक्ष्मीप्रसाद जाेशीलाई झापाकाे दमकस्थित सङ्गम स्विट्सकाे सभाभवनमा विशेष सम्मान अर्पण गरेकाे थियाे ।
नपाली कलासाहित्य डट कम प्रतिष्ठानले हरेक वर्ष स्थानीय संघसंस्थाहरूसँगकाे सहकार्यमा काठमाडौंबाहिर कला-साहित्य यात्रा, र सिर्जना-उत्सवकाे आयाेजना गर्दै आएकाे छ ।

Comments are closed.