राजस्थान रोयल्स ६ विकेटले विजयी, रियान परागको अर्धशतक

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्सले आफ्नो जितविहीन यात्रालाई निरन्तरता दिएको छ । गएराति भएको खेलमा मुम्बई आफ्नै मैदानमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी प्रतियोगितामा हार्दिक पान्डेयाको कप्तानीमा रहेको मुम्बईको यो लगातार तेस्रो हार र राजस्थानको तेस्रो जित हो ।
वाङखडे स्टेडियममा राजस्थानले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । मुम्बईले २० ओभरमा नौ विकेट गुमाएर १ सय २५ रनको सामान्य योगफल बनाएको थियो । शीर्ष क्रममा तीन ब्याटर गोल्डेन डक आउट भएका थिए । रोहित शर्मा, नमन धीर र डेवल्ड ब्रेभिस शून्यमा पवेलियन फर्किए । तीनै जना ट्रेन्ट बोल्टको सिकार भएका हुन् ।
इशान किशन १६ रनमा मैदान बाहिरिए । मुम्बई २० रनमा चार विकेटको नाजुक स्थितिमा पुगेको थियो । तिलक बर्मा र हार्दिकले इनिङ्स सम्हाले । पाँचौँ विकेटका लागि यी दुईले ५६ रनको साझेदारी गरेका थिए । हार्दिकले २१ बलमा ३४ रन जोडे । तिलकले ३२ रन बनाए । टिम डेभिडले १७ रन थपे । बोल्ट र युजवेन्द्र चाहलले तीन- तीन विकेट लिए । नान्द्रे बर्गरले दुई र आभेस खानले एक विकेट हात पारे । जवाफमा राजस्थानले १५ ओभर तीन बलमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो
। यसस्वी जैसवाल १० र कप्तान सञ्जु सामसन १२ रनमा आउट भए । जस बटलर १३ रनमा पवेलियन फर्किए । रविचन्द्रन आश्विनले १६ रनमा आफ्नो विकेट गुमाएका थिए । रायन परागले ३९ बलमा अविजित ५४ रनको योगदान गरेपछि राजस्थानले सहज जित हात पारेको हो । उनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । आकाश मधवालले तीन विकेट लिए । अपराजित राजस्थान तीन खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । मुम्बईले भने हारमा ह्याट्रिक गर्यो । आईपीएलमा आज साँझ पौने आठ बजे रोयल च्यालेन्जर्स बैङ्लुरु र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ ।

Comments are closed.