अमेरिकाको म्याडिसनमा १६ औं नेपाली साहित्य साँझ कार्यक्रम सम्पन्न

संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा १६ औं नेपाली साहित्य साँझ कार्यक्रम सम्पन्न गरियो । नेपाली अमेरिकी मैत्री सङ्घ (नाफा) ले हरेक वर्ष आयोजना गर्ने उक्त कार्यक्रमको सभापतित्व अबिमन पसछेंले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि, तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष वसन्त श्रेष्ठ रहनु भएको थियो ।

उक्त कार्यक्रम मञ्चमा आसिन व्यक्तित्वहरूबाट संयुक्तरूपमा दीप प्रज्ज्वलन गरी समुद्घाटन भएको थियो । सो सभालाई सम्बोधन गर्दै कार्यक्रमका सञ्चालक सन्तोष पौडेल तथा संयोजक पर्वत रेग्मीद्वारा स्वागत मन्तव्यका साथ कार्यक्रम शुरूवात भएको थियो । बालबालिकातर्फबाट ओजस्वी पसछें र सुहानी पाण्डेले कार्यक्रम सञ्चालन र बाल साहित्य संयोजन अर्चना धाख्वा तथा निकिता मिश्र पाण्डेयले गर्नुभएको थियो ।

“नाफा विजय मल्ल साहित्य पुरस्कार” प्रतियोगताका लागि पुरस्कार प्रायोजक विजय मल्लकी सुपुत्री वन्दना मल्ल श्रेष्ठ तथा कृष्णदास मल्लका स्‍मृतिमा स्थापित “नाफा बाल साहित्य पुरस्कार” का प्रायोजकका तर्फबाट सुपुत्री धन मल्ल श्रेष्ठले पुरस्कार स्थापनाको औचित्य र प्रयोजनबारे आफ्नो धारणा राख्नु भएको थियो ।

“विजय मल्ल साहित्य पुरस्कार” प्रतियोगितामा भाग लिनुहुने कवि तथा कवयित्रीहरूमा जीवन खड्का, सुश्मा श्रेष्ठ, भीम पुडासैनी, प्रमोद आचार्य, कल्पना रिजाल, बिकी गुरुङ, अप्सरा गिरी, अर्चना धाख्वा, लेखनाथ काफ्ले, सुजाता गौतम एवम् गणेश श्रेष्ठद्वारा कविता वाचन भएको थियो । बालबालिकातर्फबाट आन्या पाण्डेय, आर्जु पुडासैनी, आर्जन पुडासैनी, आभा भारती, आरोश सुबेदी, खुशी श्रेष्ठ, जुना रिजाल, निल पाण्डेय, प्रसङ्ग कटुवाल, प्रियासा गुरागाईं, पुरन बराल, यूभान थापा, समिका पौडेल, सान्भी पाण्डे, सुहानी पाण्डे तथा सुयोग ज्ञवालीद्वारा कविता वाचन भएको थियो ।

त्यसका साथसाथै अप्रतियोगी कवि तथा कवयित्रीहरूमा राजेन्द्र अर्याल, अबिमन पसछें, सीता अर्याल, मित्र पौडेल, गंगा मल्ल श्रेष्ठ, दिनार श्रेष्ठ, निकिता मिश्र पाण्डेय एवम् प्रकास भट्टबाट कविता वाचन भएको थियो । “विजय मल्ल साहित्य पुरस्कार” का लागि प्रतियोगी मध्यबाट कवि लेखनाथ काफ्लेले प्रथम स्थान, कवि जीवन खड्काले दोश्रो स्थान र कवयित्री अप्सरा गिरी भारतीले तेश्रो स्थान हासिल गर्नु भयो । सहभागी प्रतियोगी सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितात्मक कार्यक्रमामा निर्णायकको भूमिकामा नेपालबाट सुलोचना मानन्धर धिताल, धीरेन्द्र प्रेमर्षि तथा विनोद अधिकारी रहनुभएको थियो भने आन्तरिक निर्णायकका रूपमा सीता अर्याल, मित्र पौडेल तथा गंगा मल्ल श्रेष्ठ रहनु भएको थियो । विजय मल्ल साहित्य पुरस्कार प्रतियोगीहरूका कविता वाचन पश्चात निर्णायक धीरेन्द्र प्रेमर्षिको प्रेरणात्मक सन्देश श्रवण पनि गरिएको थियो ।

उक्त समारोहबीच “अपराध–सुधार (अन्तर्राष्ट्रिय कवितासङ्ग्रह)” को पुस्तक विमोचन भयो ।
विमोचनमा एकबहादुर क्षत्रीबाट सङ्क्षिप्त मन्तव्य र सीता अर्याल, राजेन्द्र अर्याल, दिनार श्रेष्ठ, अबिमन पसछें, कृष्ण सिजापति एवम् राधा सिजापतिद्वारा पुस्तक लोकार्पण भयो । अन्तत कार्यक्रमका प्रमुख अतिथि वसन्त श्रेष्ठज्यूले सो कवितासङ्ग्रहको सङ्क्षिप्त समीक्षा गर्नुभयो ।

सो समारोहमा प्रमुख अतिथिको रुपमा कवि तथा साहित्यकार बसन्त श्रेष्ठले नेपाली भाषा साहित्य र कलाको संरक्षण, सम्बर्धन र विकासका लागि अमेरिकन मैत्री संघले गरेका विविध कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो। साथै वहाँले नेपाली भाषा साहित्य र कलाको पुस्तान्तरणको लागि बालबच्चालाई नेपाली पाठशालाको स्थापना र साहित्यिक कार्यक्रममा देखाएको उत्साह र जाँगरले नेपाली भाषा र साहित्यको संरक्षण र विकास हुने कुरामा शंका गर्न नहुने पनि बताउनु भयो ।

उक्त कार्यक्रममा “नाफा लाइफ टाइम एचिभमेन्ट अवार्ड” कृष्ण सिजापति तथा उहाँकी धर्मपत्नी राधा सिजापतिलाई प्रदान गरिएको थियो । यसैगरी “सगरमाथा प्रज्ञा पुरस्कार” अमेरिकामा नेपाली समुदायका बालबालिकाहरूलाई नेपाली भाषा सिकाएर कक्षा सह सञ्चालकको रूपमा नेपाली भाषाको सम्वर्धन गर्दै एवम् डायस्पोरिक नेपाली भाषा साहित्य तथा संस्कृतिको श्रीवृद्धिमा मन, बचन र कर्मले विगत लामो समयदेखि उदाहरणीय रूपमा विशिष्ट योगदान पुर्‍याउँदै आउनु भएका प्रखर समाजसेवी आविष्कार भारतीलाई प्रदान गरिएको थियो ।

यसैगरी रेन्युएबल एनर्जी ग्रुपद्वारा प्रायोजित “नाफा छात्रवृत्ति” का संयोजन नम्रता डंगोलले गर्नु भएको थियो । उक्त रकम र प्रमाणपत्र रेन्युएबल एनर्जी ग्रुपका तर्फबाट नम्रता डंगोल, ब्रायन कोकर र डना वेमेट्बाट ओजस्वी पसछेंलाई प्रदान गरिएको थियो । सो समारोह दिउँसो २ बजेदेखि प्रारम्भ भई साँझ ८ बजे सभापतिले समापन भएको घोषणा गर्नु भएको थियो । कार्यक्रममा नाफाका पूर्व अध्यक्षहरू कृष्ण सिजापति, श्रीधर रानाभाट लगायत लगभग १०६ जना साहित्यप्रेमी श्रोताहरूको उपस्थिति थियो । यस कार्यक्रमलाई ईनेपलिज डट कमले फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । अन्त्यमा सेलरोटी चिया लगाएत जलपानको व्यवस्था गरिएको थियो ।

Comments are closed.