काठमाडौं –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच नयाँ चरणको वार्ता सोमबारदेखि सुरु हुने दाबी गरेका छन्। उनले इरानमाथि गर्ने तय गरिएको ठूलो सैन्य कारबाही हालका लागि स्थगित गरिएको पनि बताएका छन्।
विशेष विमान ‘एयर फोर्स वान’मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान र मध्यपूर्वका अमेरिकी साझेदार राष्ट्रहरूको आग्रहपछि सैन्य कारबाही रोकिएको र सोमबार दिउँसोदेखि वार्ता सुरु हुने बताए। तर, वार्ता कहाँ हुने र त्यसमा को-को सहभागी हुने भन्नेबारे उनले खुलाएका छैनन्।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरान र मध्यपूर्वका मित्र राष्ट्रहरूले सैन्य कारबाही रोक्न अनुरोध गरेको तथा दुवै पक्षबीच सम्झौताको रूपरेखा लगभग तयार भइसकेको दाबी गरेका थिए। उनले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ र इरानको परमाणु कार्यक्रमसम्बन्धी नयाँ सम्झौता हुने सम्भावना पनि औंल्याएका छन्।
यता, इरानले भने ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ। इरानको अर्ध–सरकारी समाचार संस्था ‘मेहर’का अनुसार तेहरानले अमेरिकासँग सैन्य कारबाही रोक्न कुनै आग्रह नगरेको र ट्रम्पको भनाइलाई “नयाँ झुट” को संज्ञा दिएको छ।
यद्यपि, इरानी सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री अब्बास अरागचीले ओमानको मध्यस्थतामा ‘स्ट्रेट अफ होर्मुज’ सम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको पुष्टि गरेका छन्। यससँगै अमेरिका–इरानबीच कूटनीतिक संवाद पुनः अघि बढ्ने सम्भावनाप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ।







