एमाले वाग्मती प्रदेश अधिवेशन: अध्यक्षमा कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालकाे मनाेनयन दर्ता

काठमाडौं । नेकपा एमालेको वाग्मती प्रदेश अध्यक्षको लागि केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले मनोनयन दर्ता गर्नुभएको छ ।

काठमाडौंमा जारी अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको ढुङ्गेलले बताउनुभयो । सहमतिको प्रयास जारी रहको भए पनि तोकिएको समयमा मनोनयन दर्ता गरेको ढुङ्गेलले बताउनुभयो ।

ढुङ्गेलको प्रस्तावकमा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठ र समर्थकमा भक्तपुरका पार्टी अध्यक्ष वचन देउजा हुनुहुन्छ  ।

अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएपछि निर्वाचन वा सहमतिले पार्टीले नेतृत्व निर्माण गर्ने ढुङ्गेलले बताउनुभयो । राजनीति नेतृत्वको फैसलाको लागि चुनावी प्रक्रियामा गएको ढुङ्गेलले प्रष्ट पार्नुभयो । पार्टी भित्र मतदान भए पनि त्यो अन्तरपार्टी मतदान भएको स्वच्छ प्रतिस्पर्धा हुने ढुङ्गेलले बताउनुभयो । सहमतिका लागि पनि आफू खुल्ला रहेको उहाँले जानकारी दिनुभयो ।

पार्टी अध्यक्षले लिनु भएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष नै आफ्नो लक्ष हुने ढुङ्गेलले प्रष्ट पार्नुभयो । २०८४ को निर्वाचनमा अरू सबै शक्ति मिलेर आउँदा पनि वाग्मतीमा एमालेलाई पहिलो पार्टी बनाउने लक्ष आफ्नो हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वाग्मती प्रदेश संघीय राजधानी भएको प्रदेश समेत भएकोले राजनीतिमा विशेष महत्त्व राख्ने उहाँले बताउनुभयो । बाग्मतीको पार्टी राजनीतिमा धेरै अवसर र केही चुनौतीका थाक पनि भएको उहाँले प्रतिक्रिया दिनुभयो । ती सबै चुनौतीलाई चिर्नेका लागि आफूले नेतृत्व लिन लागेको उहाँले प्रष्ट पार्नुभयो ।

अध्यक्ष पदका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले पनि मनोनयन दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहनुभएको छ । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।

प्रदेश नेतृत्व चयनका लागि बिहीबार विद्युतीय मेसिनबाट मतदान हुँदै छ । मतदान अघिसम्म पनि सहमतिको प्रयास हुने छ । मनोनयन दर्तासँगै सहमतिको सम्भावना भने कम हुँदै गएको छ ।

 

Comments are closed.