Trending Now

द राइजिङ स्टार बोर्डिङ द्वारा बाल साहित्यकार सम्मानित

काठमाडौँ- मण्डिखाटारमा रहेको द राइजिङ स्टार बोर्डिङ स्कुलले बाल साहित्यकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान २०७९’ नाम दिइएको कार्यक्रम आज मंगलबार सम्पन्न भएको हो । स्कुलका प्रिन्सिपल कृष्ण कुमार बोहराको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठान बाल साहित्य विभाग प्रमुख प्राध्यापक डा. देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विशेष अतिथिका रूपमा बुढानीलकण्ठ नगरपालिका वडा न. ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे रहेकी थिइन् भने अतिथिहरू बाल साहित्यकार प्रा. डा. शैलेन्द्र नेपाल, भागीरथी श्रेष्ठ, नाटककार पुरु लम्साल, राम देव पाण्डे, छायादत्त न्यौपाने, जलेश्वरी श्रेष्ठ, ऋषि राम पाण्डे, रज्जु श्री पराजुली, कल्पना पोखरेल आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले जयपृथ्वीबहादुर सिंह बारे प्रस्ट पार्दै समग्र बाल साहित्यकारहरूका लागि यो सम्मान कार्यक्रम एउटा सुनौलो अवसर भएको उल्लेख गरे । विद्यालय स्तर बाट गरिएका यस्ता कार्यक्रम बालबालिकाहरूलाई पठन संस्कृतिको विकास गर्नका लागि कोशे ढुङ्गा साबित हुने उनको भनाई थियो ।

त्यस्तै विशेष अतिथि पाण्डेले समग्र साहित्यको विकासमा यो सम्मान कार्यक्रमले बाल साहित्यकारहरूका थप हौसला प्रदान गर्ने बताउनुका साथै सबैलाई शुभकामना व्यक्त गरिन ।

सम्मान कार्यक्रममा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान २०७९ बाट बाल साहित्यकार लक्ष्मी उप्रेतीलाई पुरस्कार राशि रु ४०४४४/- रुपैयाँ, दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

त्यस्तै बाल साहित्यकारहरू सँग राइजिङ स्टारका विद्यार्थीहरूले अन्तर्क्रिया कार्यक्रम समेत राखेका थिए । उक्त अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका विद्यार्थीहरूले बाल साहित्य सँग सम्बन्धित विभिन्न प्रश्नहरू अतिथिलाई राखेका थिए।

Comments are closed.