प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) प्रकाशित

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशित गरेको छ । उक्त कोश राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा आयोजित एक समारोहमा सार्वजनिक गरेकी हुन् । प्रतिष्ठानले पहिलो पटक २०१९ सालमा ‘नेपाली शब्दकोश’ प्रकाशित गरेको थियो । त्यसपछि उक्त कोशलाई लिएर २०४० सालमा ‘नेपाली बृहत् शब्दकोश’ को पहिलो संस्करण प्रकाशित गरेको थियो ।
उक्त शब्दकोश २०७५ सालसम्म दसौं संस्करण प्रकाशित थियो । प्रतिष्ठानले सोही कोशलाई पहिलो संस्करणका रूपमा ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (२०७९) प्रकाशित गरेको हो ।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रधान सम्पादक, विशेष सम्पादकमा चूडामणि बन्धु, माधवप्रसाद पोखरेल, तुलसीप्रसाद भट्टराई, जगतप्रसाद उपाध्याय र हेमनाथ पौडेल तथा सम्पादक यज्ञश्वर निरौला छन् । यो संस्करणमा १ लाख ३० हजार मूल शब्दसहित प्रकाशनमा ल्याएको जनाएको छ । कुलपति उप्रेतीका अनुसार मुलुकभित्रका विभिनन मातृभाषाका प्रचलित शब्दहरू, नेपाली भाषाको भाषिका तथा मुलुक बाहिर बोलिने नेपाली भाषाका शब्दसमेत समेटिएका छन् ।
‘विशेष गरी मुलुकका मातृभाषा, नेपाली भाषाकै विभिन्न भाषिका तथा मुलुकबाहिर नेपालीभाषी रहेका ठाउँका प्रचलनमा रहेका भाषाहरूसँगको संसर्गले नेपाली भाषाले आर्जन गरेका शब्दहरू समेटिएका छन्,’ करिब बाह्र वर्षको प्रयासमा कोश नयाँ संस्करण प्रकाशनमा आएको उल्लेख गर्दै कुलपति उप्रेतीले भने, ‘अझै पनि सोचेजति प्राविधिक शब्दहरू समेट्न सकिएको छैन ।’ विगतको भन्दा ठूलो आकारमा २ हजार २८ पानाको रहेको छ । कोशलाई मोबाइल एपमा राखिने र प्रयोगकर्ताले न्युनतम शुल्क बुझाएर हेर्न मिल्ने व्यवस्था गरिएको समेत जनाए ।

 

 

Comments are closed.