ल्हाक्पा सोनाम शेर्पाको कृति ‘हिम्बु’सार्वजनिक

काठमाडौं । पूर्वी हिमाली जिल्ला सोलुखुम्बुको एउटा गाउँबाट भागेर काठमाडौंमा काम गर्न आएको एक १५ वर्षीय युवकको सफलताको कथा ‘हिम्बु’को एक भव्य समारोहबीच विमोचन भएको छ ।

शेर्पा भाषामा हिम्बुको अर्थ हिउँको छोरा भन्ने हुन्छ । यी हिउँका छोरा हुन् ल्हाक्पा सोनाम शेर्पा । पुस्तक शेर्पाको जीवनी हो । सानैमा बुबा बितेको र आमालाई धेरै सन्तानको बोझले पिरोलेको देखेका सोनाम केही गाउँले दाईहरूको साथ लागेर काठमाडौं आए ।

राजधानीमा बसेर पर्यटकहरूको खाना ओसार्ने र तिनलाई सहयोग गर्ने काम सुरु गरे । विस्तारै पर्यटकका सहयोगी भए, गाइड भए र पर्यटकहरूलाई पदयात्रा गराउने कम्पनीको मालिक बने ।

पर्यटकहरूलाई थामसेर्कु कम्पनीमार्फत् उत्कृष्ट सेवा दिएर अत्यधिक सफल हुँदै गएका सोनामलाई विकट जिल्लाहरूमा पदयात्री तथा हिमाल आरोही पुर्‍याउन हवाईजहाजको निकै अभाव महसुस भयो ।

नेपाल वायुसेवाका केही ट्विनअटरले उनका ग्राहकलाई चाहेजति सेवा पुर्‍याउन सकेनन् । अनि आयो सोच, जहाज कम्पनी खोल्ने ।

एयरलाइन्स त खोल्ने तर जहाज कहाँबाट किन्ने ? कसले ऋण दिने ? उनले केही नेपाली बैंकमा कोसिस गरे तर कसैले सहयोग गर्ने छाँट देखाएन । अनि आफ्ना एक फ्रान्सेली मित्रलाई आफ्नो समस्या बताए । ति मित्रले फ्रान्सबाट आफ्नो नाममा सहजै ३० लाख डलर ऋण उपलब्ध गराए ।

पैसा भए पनि जहाज किन्न सहज थिएन । जहाज किन्न जाँदा बेच्ने व्यक्तिलेसमेत सोनामलाई ग्राहकका रुपमा पत्याउन सकेन ।  तर, दृढ अठोटका धनी शेर्पाले यती एयरवेज खोलेरै छाडे अनि सुरुमा दुईवटा ट्विनअटर विमान पनि ल्याउन सफल भए ।

व्यापारमा दुईभाइ आङ छिरिङ शेर्पा र टेण्डी शेर्पालाई पनि साथै राखेका शेर्पाको व्यवसाय सशक्त ढंगले अघि बढ्यो तर पारिवारिक खुसी हरायो । उनका दाइको पहिल्यै हिमाल आरोहणको क्रममा मृत्यु भएको थियो तर कान्छो भाइ टेण्डीको पनि हेलिकोप्टर दूर्घटनामा मृत्यु भयो ।

दुई दाजुभाइ सोनाम र छिरिङले व्यापार र व्यवसायलाई निकै उचाइमा पु¥याएका थिए । सोनाम र छिरिङको अनुहार पनि मिल्थ्यो र आफूहरू पनि निकै मिल्थे ।  आङ छिरिङको व्यावसायिक खुबीले यतिको व्यवसाय बढेको थियो । तर, उनी पनि लामो समयको पाहुना बन्न सकेनन् ।

२०७५ सालमा पाथीभराबाट हेलिकप्टरमा काठमाडौं आउन लाग्दा दूर्घटना परेर छिरिङको मृत्यु भयो । सोनामका लागि छिरिङको मृत्यु सबैभन्दा त्रासदीपूर्ण भयो । आफूले हजारौं विदेशीलाई ३५ वर्ष लगातार हिमाल आरोहण गराएका सोनामलाई आफू पनि सातै महादेशका सबैभन्दा उँचो हिमाल चढ्ने सोच आयो ।

उनको यो  अभियान २०७२ सालबाट सुरु भयो । पहिलो हिमाल थियो तान्जनिया, अफ्रिकाको  माउण्ट किलिमन्जारो (५८९५ मि.) ।

२०७२ मै उनले रसिया (युरोप)को माउण्ट एलब्रस (५४६२ मी.) तथा अष्ट्रेलिया महादेशको माउण्ट कार्सटेन्ज पिरामिड (४८८४ मि.) चढिसकेका थिए । त्यस्तै २०७३ मा उत्तर अमेरिकाको माउण्ट डेनाली (६१९५ मि.) तथा अन्टार्टिकाको माउण्ट भिन्सन (४८९७ मि.) पनि चढी भ्याएका थिए । त्यतिकैमा भाइको मृत्यु भयो । उनी अलमलमा परे ।

तर, उनले आफ्नो दृढ ईच्छाशक्तिलाई त्यतिकै तिलाञ्जली दिने विचार गरेनन् र २०७८ सालमा अर्जेन्टिना, दक्षिण अमेरिकाको माउण्ट एकन्कागुवा (६९६१ मि.) आरोहण गरे ।

सात महादेशको सातै ठूला हिमाल चढ्न सबैभन्दा गाह्रो नेपालको सगरमाथा नै थियो । छोरा, छोरी र श्रीमतीले निकै रोक्न कोसिस गरेता पनि सबैलाई मनाएर २०७९ सालमा एसिया तथा विश्वकै अग्लो हिमाल सगरमाथा (८८४८.८६ मि.) पनि आरोहण गरी छाडे ।

हिम्बु पुस्तकका लेखक ल्हाक्पा सोनाम शेर्पा आफै हुन् । उनको भावनालाई अक्षराकृत गर्ने कार्य साहित्यकार युवराज नयाँघरेले गरेका हुन् । पुस्तकको विमोचन समारोहमा बोल्दैगर्दा सम्पादक नयाँघरेले शेर्पाको सरल जीवन शैली र थोरै बोलेर धेरै कुरा व्यक्त गर्ने क्षमताका विषयमा चर्चा गरे ।

हिम्बु अर्थात् हिउँको छोरा पुस्तकको विमोचन पनि शेर्पाले एक हिउँकै छोराको बाहुलीबाट गराए । वि.सं. २००९ सालमा तेन्जिंग नोर्गे तथा सर एडमण्ड हिलारीको सफल सगरमाथा आरोहण समूहका सदस्य कान्छा शेर्पाले सो पुस्तकको अनावरण गरे ।

उक्त अवसरमा पुस्तक लेखककी छोरी तथा स्पेनका लागि नेपालकी पूर्व राजदूत दावा फूटी शेर्पाले आफ्नो पिताको परिवारसँगको सम्बन्ध र उनले देखाएको जीवनको गोरेटोको विषयमा चर्चा गरिन् । पुस्तक विमोचन कार्यक्रमको अन्त्यमा टेलिभिजन पत्रकार दिलभुषण पाठकले पुस्तकका लेखक ल्हाक्पा सोनाम शेर्पासँग करिब एक घण्टा अन्तरङ्ग वार्ता गरेका थिए ।

Comments are closed.