वर्षमा एक पटक आज अर्थात् बडादशैंकाे महानवमीका दिनमात्र खोलिने तलेजु भवानीको मन्दिर आज खुला

काठमाडौं । काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएकाे छ ।

तलेजु भवानीको मन्दिर वर्षमा एक पटक आज अर्थात् बडादशैंकाे महानवमीका दिनमात्र खोलिन्छ ।

बडादशैंकाे नवमीका दिन मात्र खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि दर्शनार्थीकाे घुइँचाे लागेकाे छ । बिहानैदेखि भक्तजनहरु लाम लागेर मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।

नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट दर्शनार्थीहरु बिहानै मन्दिर पुगेका हुन् ।

फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा तलेजु भवानीलाई ल्याइएको थियो । विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने प्रचलन छ ।

महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि समेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पसाथ महाअष्टमीकाे राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिने प्रचलन पनि छ ।

मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा भित्र्याएका बताइन्छ । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।

१७औं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुद‍ृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको १ पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किंवदन्ती छ ।

वसन्तपुरसँगै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, वनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।

महानवमी पर्व आज सिद्धिदात्री देवीकाे पूजा आराधना गरिँदै धुमधामसाथ मनाइँदैछ ।

Comments are closed.