नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा

चितवन, नारायणगढ र गैँडाकोटलाई जोड्ने गरी नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ ।सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख ललीजन खनालले डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले यसै आर्थिक वर्षमा निर्माणको काम सुरु हुने आशा व्यक्त गरे । उनले भने, ‘ तुँदी कन्स्ट्रक्सन कम्पनीले कामको डिजाइन अन्तिम चरणमा पुगेको जनाएको छ । यसअघि टोली गएर त्यहाँको स्थलगत अध्ययन र माटो परीक्षण गरिसकेको छ । ढिलोमा यस आर्थिक वर्षभित्र काम सुरु गर्ने विश्वास छ ।’
गत भर्दौमा पुल महाशाखाको टोली आएर नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गरेको थियो । साधारण पुल नभएकोले निकै लामो समय लागेको पुल महाशाखा प्रमुख खनालले जनाए । फिल्ड निरीक्षणपछि निर्माणको ठेक्का पाएको तुँदी कन्स्ट्रकसनले अहिले पुलको डिजाइन गरिरहेको छ । उसको डिजाइनलाई पुल महाशाखाले स्वीकृति दिएपछि निर्माणको काम सुरु हुन्छ ।
सिग्नेचर ब्रिज अहिले भएको पुलचोकको पुलभन्दा उत्तरतर्फ बन्ने छ । सिग्नेचर ब्रिज ४ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने जनाइएको छ । ४२० मिटर लामो हुने उक्त पुल निर्माण गर्न एक अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’ को रूपमा स्तरोन्नति गर्न थालेसँगै नदीेमा पनि थप दुई लेनको पुल बिस्तार गर्न लागेको हो । अहिले नारायणी नदीमा भएको पुल २०३८ सालमा निर्माण गरिएको पुल भएकोले अहिले जीर्ण बन्दै गइरहेको छ ।
२०७५ सालमा विश्व बैंकले नेपालका विभिन्न चार स्थानमा सिग्नेचर पुल निर्माण गर्न चार अर्ब लगानी गर्ने सम्झौता गरेको थियो । सोही समझदारी अनुसार नारायणीमा बन्ने पुल भने पहिलो सिग्नेचर पुल हो । सडक विभाग मातहतको पुल महाशाखाका अनुसार अहिलेसम्म नेपालमा विभिन्न ठाउँमा सिग्नेचर पुल निर्माण भइसकेका छन् ।
सिग्नेचर पुल अन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायतका संरचना पर्छन् । चार थरिका सिग्नेचर पुलमध्ये कुनै एक सिग्नेचर पुल तयार हुने जनाइएको छ । सिग्नेचर पुल तयार भएपछि भरतपुर र गैँडाकोट क्षेत्रमा थप सहरी सौन्दर्य थपिने विश्वास गरिएको छ ।

Comments are closed.