तुलाधर र बनेपाली सम्मानित हुँदै

लघुकथा समाज नेपालले दुई स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ ।

समाजका अनुसार ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७९’ कथाकार अनिता तुलाधरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

समाजले नेपालका पहिलो लघुकथाकार पूर्णप्रसाद ब्राह्मणको नाममा सम्मान कोष स्थापना गर्दै उक्त सम्मानको घोषणा गरेको हो । लघुकथामा पनि कलम चलाउने अनिता तुलाधर ३० को दशककी कथाकार हुनुहुन्छ ।उहाँको लघुकथासंग्रह ‘फुलू’ २०३४ सालमा नै प्रकाशित भएको थियो ।

अघिल्लो वर्ष पूर्णप्रसाद लघुकथा सम्मान सर्वनाम नाट्य समूहलाई प्रदान गरिएको थियो । सर्वनामले लघुकथा पनि नाट्य रुपान्तरण गर्दै बेलाबखत मञ्चन गर्दै आएको छ ।

त्यस्तै समाजले ‘धनमान लघुकथा सम्मान–२०७९’ लघुकथाका क्षेत्रमा क्रियाशील स्रष्टा अगीव बनेपालीलाई प्रदान गर्ने निर्णय गरेको छ । बनेपालीको २०६० र २०६२ सालमा गरी दुई लघुकथा कृति ‘शुभ यात्रा’ र ‘अन्तिम आग्रह’ प्रकाशित छन् ।

समाजले एक वर्ष धनमान कथा सम्मान र अर्को वर्ष धनमान लघुकथा सम्मान प्रदान गर्दै आएको छ ।

लघुकथा समाज, नेपालको हालै बसेको बैठकले सम्मानसम्बन्धी उक्त निर्णय गरेको हो । दुवै सम्मान समाजले भदौको पहिलो साता आयोजना हुने लघुकथा दिवसका अवसरमा प्रदान गर्ने जानकारी गराएको छ |

Comments are closed.